Now Reading
आफ्नै क्रान्तीः मानिसको हिंडाइको संघर्ष

आफ्नै क्रान्तीः मानिसको हिंडाइको संघर्ष

The Upright Revolution 4


Nepali

Jui Shrestha

धेरै धेरै अघि मानिसहरु हात-खुट्टा दुवै टेकी हिंड्थे; अरु चारखुट्टे जनावरहरु झैं। मानिसहरु खरायो, चितुवा, र गैँडाभन्दा चाँडो कुद्थे। हात र खुट्टाको अरु अङ्ग भन्दा निकै नै नजीकको सम्बन्ध थियो। तीनको बनोट पनि मिल्दो-जुल्दो थियोः पैंताला र हात दुवैका पाँच औंला थिए, र हरेक औंलामा नङ्। हात र खुट्टाका औंलाहरु एकै किसीमले बनेका थिए, बुढी औंला देखि कान्छी औंलासम्म। त्यति खेर हातको बुढी औला पैंतालाको बुढी औंला झैं अरु औंलाहरुको नजिकै थियो। खुट्टा र हातले एक-अर्कालाई जुम्ल्याहा दाजुभाइ नै मान्थे।

उनीहरुले शरीरलाई जता जानु परे पनि बोक्न मद्दत गर्थे; बजार, पसल, डाँडा-काँडामा तल-माथी गर्दै, जता सुकै पनि हिंड्नु पर्दा लगिदिन्थे। पानीमा पनि एक-आपसमा तालमेल मिलाई जीउलाई पौडी खेल्न र डुबुल्की मार्न मद्दत गर्थे। तिनीहरुले सल्लाह र सद्‌भावमा आफ्नो सम्बन्ध चलाएका थिए। उनीहरुले अरु अङ्गका शीपहरुको पनि मद्दत लिन्थे – जस्तै मुखबाट आवाज, कानबाट सुनाई, नाकबाट सुँघाई, र आँखाबाट हेराई।

तिनीहरुको तालमेल देखेर अरू अङ्गहरुमा जलन आयो। ईर्ष्याले छटपट भए। हात र खुट्टासँग आफ्नो शीप बाँड्दा हिच्किचाउन थाले। दाहले तिनीहरुले हात-खुट्टाले तिनीहरुलाई ठाउँ-ठाउँमा लगि दिन्छन् भनी भुले। तसर्थ हात-खुट्टा दुई जोडिको विरूद्ध षड्यन्त्र रचे।

जिब्रोले एउटा योजना दिमागबाट सापटि लिई त्यसको लगत्तै कार्यान्वयन गर्‍यो। जिब्रोले ठुलो-ठुलो स्वरमा आफ्नो मनको कुरा बोल्न थाल्यो, हात र खुट्टामा को बढि शक्तिशाली होला त? दुईको तुलना गर्न थाल्यो। तब हात र खुट्टा, जो पहिले जुम्ल्याहा दाजुभाइ झैं मिलेर बसेको, कसको के छ वा छैन हेर्दै नहेरेको, केही त्यस्तो विचारै नगरेको अवस्थाबाट, मुखबाट आवाज सापटि लिएर आफू नै शरीरको लागि बढी महत्त्वपूर्ण भएको जनाउन थाले। हुँदा-हुँदा, को बढी सुन्दर भन्ने सम्म बहस भयो। हातले आफ्ना लामा-लामा, पातला, सुडोल औंलाहरुको बखान गरी खुट्टाहरुको छोटा-छोटा बुच्चे औंलाहरुको खिसी गर्‍यो। खुट्टा पनि आफू किन पछि पर्ने त भनेर, हातका पातला औंलाहरुलाई गिज्याउँदै खान नपाएका नातेदार भने। यसरी कयौँ दिनसम्म तिनीहरुको बहस चलि रह्यो, कतिपय समय त, सँगै काम गर्न नै नमिल्ने गरी।

तब जिब्रोले एउटा प्रतिस्पर्धा गर्नु पर्ने सुझाव दियो। एकदमै राम्रो कुरो भनी सबै अङ्गले आफ्नो समर्थन व्यक्त गरे। तर कस्तो खालको प्रतिस्पर्धा गर्ने त? कसैले हात र खुट्टा बीच कुस्ती खेलाउने प्रस्ताव राखे। अरुले तलवार चलाउने, दगुर्ने, जगलिङ्, वा बाघचाल र चेसजस्ता खेलहरुको सुझाव दिए। तर एक-एक गरी सबै सुझावहरु फ्याँकिए, कि त सञ्चालन गर्न गार्‍हो भएर, कि त चुनौती एक वा अर्को अङ्ग प्रति अन्याय हुने भनेर। फेरी पनि जिब्रोले नै दिमागबाट सोच पैंचो मागी यस समस्याको समाधान निकाल्यो। खुट्टा र हात आफैले पालै-पिलो एक अर्कालाई चुनौती दिने। हात-खुट्टा द्वय मञ्जुर भए।

सो प्रतिस्पर्धा नदी छेउको जङ्गलको मैदानमा भयो। सबै अङ्गहरु सक्दो सावधान भई बसे, केही अपत्यासिक दुर्घटना नहोस् भनी, किन कि शरीर भित्र नै द्वन्द चलिहरेको थियो। आँखाहरुले टाढा-टाढा सम्म केही खतरा छ कि भनी हेरे, कानहरू ठाडो भई जस्तो सुकै दुरीको आवाज पनि सुन्न तत्पर भए, नाक पनि आफू सतर्क हुन सफा भई बस्यो, ता कि आँखा र कानले नभेटेका केही खतरा भए सुँघ्न सकोस् भनी। र जिब्रो पनि केही खतरा भए चिच्याउन तयार भयो—खतरा!

बतासले सो प्रतिस्पर्धाको खबर जङ्गल, पानी, र वायु मण्डलको चारै कुनामा फैलायो। चारपाइले जनावरहरु सबभन्दा पहिले आइपुगे, कतिपय ठूला जनावरहरु त आफू लडाईंका लागि आएको होइन भनी जनाउन हरियो हाङ्गो बोकेर आएका थिए। चितुवा, बाघ, सिंह, गैंडा, स्याल, हात्ती, जिराफ, उँट, चौरी गाई, र साँढेको रङ्गीचङ्गी हुल थियो; हरिन, मृग, खरायो, मुसा, र लङ्गुर नि आए। पानीमा बस्ने माछा, हिप्पो, र घरियालले आधा शरीर जमीनमा र आधी शरीर पानीमा राखी प्रतिस्पर्धा हेरे। दुई खुट्टे अस्ट्रिच, कुखुरा, र मुजुरले उत्साहित हुँदै आफ्नो पखेटा हम्काए। रूखमा चराहरुको चिरबिर र घाँसमा जुनकिरीको गाना सुनियो। माकुरा, गड्यौंला, झुसिलकिराहरु जमीन वा रूखमा घिस्रिदैं आए र छेपारो भने कहिले यता कहिले उता दौडि रह्‍यो, एक ठाउँमा रोक्दै नरोकी। बाँदर, चिम्पान्जी र गोरिल्ला एक हाँगोबाट अर्कोमा हाम फाल्दै बसे। रुख र झाडीहरु पनि बिस्तारै कहिले यता र कहिले उता, कहिले अघि र कहिले पछि झुक्ने।

मुखले एक गीतबाट द्वन्द शुरु गर्‍योः

खुशीको लागि गर्छौं
यो सब खुशीको लागि गर्छौं
यो सब खुशी हुनका लागि
किन कि हामी सबै
एउटै प्रकृतीका हौं

हात र खुट्टाले जे परिणाम आयो सो स्वीकार गर्ने भए; खेल बहिस्कार, धम्की, झै-झगडा, अनसन, वा नचाहिंदो ढिलाई हुन नदिने वाचा गरे।

हातले पहिलो चुनौती दियो-काठको एक टुक्रा भुईंमा फ्याँकेर। खुट्टाको काम चाहिं देब्रे अथवा दाहिने, वा दुवै खुट्टाहरुले त्यस काठको टुक्रा टिपी फ्याक्नु पर्ने। आफ्नो कार्य सफल गर्नलाई दुई खुट्टाहरुले कुनै पनि समय एक-अर्कासँग सल्लाह गर्न पाउँथ्यो र औंलाहरुको प्रयोग गर्न पाउँथ्यो। खुट्टाहरुले काठ पल्ट्याउन खोजे, ठेल्न खोजे; हरेक प्रकारको प्रयास गरे, तर राम्ररी पकड्न पनि सकेनन्। र काठ कतै लग्ने त कुरै छाडौं, एक इन्च पनि हल्लाउन सकेनन्। चुनौती दिने हातहरु ब्युटी कन्टेस्टका सहभागीहरु झैं परेड गर्न थाले। आफ्नो सलक्क परेको जीउ देखाउँदै, धेरै पाराले काठ समाउन थाले। काठ समाएर जङ्गल भित्र निकै टाढासम्म फ्याँके। सबै दर्शक र प्रतिस्पर्धीहरु तीनछक परि तीनलाई हेरे। अरु शीपहरु पनि देखाए—चामलको भाँडोबाट स-साना ढुङ्गाहरु निकाले, सियोमा धागो हाले, र साना-तिना पुली बनाएर काठका ठूला टुक्राहरु सारे, र भालाहरु बनाएर टाढा-टाढा फ्याँके—यी सब कुराहरु गर्न त खुट्टाले सपनामा पनि सोच्न सक्दैन थियो। अब खुट्टाहरु चाहिं खाली आफ्नो भाइको सलक्क परेको जिउ, चपलता र लचकिलोपना हेर्दै मात्र बस्न सके। सबै दर्शकका हातहरुले वाह-वाह गर्दै ताली बजाए, जसले खुट्टाहरु सबै खिन्न भए। तर तिनीहरु पनि त्यती सजिलै कहाँ हार मान्थे र? खुट्टा अलि निराश भएर बसेता पनि, बुढी औंलाले जमीनमा यता-उती कोर्दै बसेता पनि, आफूले जित्ने खालको के चुनौती दिन मिल्ला भने ध्याउन्नामा थिए।

बल्ल-बल्ल खुट्टा र पैंतालाहरुको चुनौती दिने बेला आयो। उनीहरुले आफूले पेश गरेको चुनौती निकै सरल छ भने। हातले खाली पुरै शरीरलाई त्यहाँका जनावरहरु भेला भएर बनेको गोलोको एक भागबाट अर्को भागमा लानु पर्ने। यस्तो जाबो काम-घमण्डी हातले सोच्यो। तर यो त हेर्नै पर्ने नजारा बन्यो। जीउको सबै कुरा तल-माथी परेको थियो। हात भूईंमा थियो; आँखाहरु भूईंको धेरै नजिक, यति नजिक कि केही देख्नै गार्‍हो। नाकभित्र त धुलो नै पस्यो, हाच्युँ आउने गरी। खुत्ता र पैताला हावामा उडिरहेको अवस्था। दर्शकहरु चिच्याए र रम्दै गाउन थालेः

न्याया न्याया जू
हाकुना माटाटा
फुआटा न्यायो
हाकुना माटाटा
टुरुकेनी आङ्गानि

तर सबैले हात र पाखुराहरुलाई हेरिरहेका थिए। केही बेर अगाडि अनेकौं शीपहरु देखाइरहेका अङ्गहरु अहिले एक कदम पनि अगाडि बढ्न सकिरहेका थिएनन्। केही पाइला अगाडि जाँदा नै हातहरु दुखाईले चिच्याउन थाले, पाखुराहरु लड्बडाए, ढल्ला-ढल्ला जस्तै भए, र आखिरमा शरिरलाई नै ढलाए। केही बेर थकाइ मारी फेरी प्रयास गरे। यस पालि हातले औंलाहरु अलि फाटेर जमीन समात्न खोजे। तर खाली बुढी औंलाहरु मात्र तेर्स्याउन सके। समरसल्ट मार्न खोजे तर यसो गर्नाकालागि खुट्टाहरु पनि चाहिने हुनाले सो कार्य अयोग्य ठहराइयो। तब पैंतालाहरुको खिल्ली उडाउने पाली आयो। मुखबाट ठुला-ठुला स्वर सापटि लिएर, औंलाहरुको तीखो आवाजको हसाईको खिल्ली उडाउँदै, फरक किसीमको हाँसो सुनाए। यस्तो दुर्व्यवहार देख्दा, पाखुराहरुलाई असह्य भयो र अन्तिम पटक गार्‍हो मानी-मानी शरीरलाई बोक्ने आँट गरे। अफसोस, एक कदम पनि अघी बढ्न सकेनन्। ज्यादै थकित हुँदै औंलाहरुले हार माने। खुट्टाहरु आफ्नो निहीत बल देखाउन पाएकोमा दङ्ग परे। निकै समय लगाएर कहिले हिंडे, कहिले दौडे, कहिले धेरै माथी छलाङ मारे, कहिले टाढासम्म छलाङ मारे, एक चोटि पनि शरीरलाई भूईंमा नखसालिकन! दर्शकमा भएका सबै खुट्टाहरुले आफ्नो चित्त बुझेको र खुट्टाहरू बीचको सोहार्दता देखाउन जमीनमा खुट्टा बजारे। हातहरुलाई यसरी गिज्याएको पटक्कै चित्त बुझेन। आफ्नो असहमती देखाउन हातहरु माथी उठाए; आफैले यो खेल शुरु गरेको सजिलै सँग भुले।

तर दर्शकहरु सहित सबैले हातमा अनौठो कुरा देखे – हातले जीउलाई उचाल्न खोज्दा तेर्सिएका बुढी औंलाहरु अझै पनि अरू औंलाहरुबाट छुट्टिएका थिए। ती प्रतिस्पर्धीहरु हाँसी राख्दा अर्को कुरा देखे। यसरी छुट्टिएका बुढी औंलाहरुले हातलाई कम प्रभावकारी बनाउनका साटो उल्टो तिनीहरुको पकड्ने क्षमता बढाएको थियो। के भएछ त? यस्तो कुरुपता त शक्तिमा बदलिएछ।

अब जीत कसको त? यो बहस सबै अङ्गहरु बीच पाँच दिनसम्म चल्यो, जो हात र पैंतालामा भएका औंलाहरुको संख्या पनि हो। तर जति सोच्दा पनि ठ्याम्मै कसको जीत भयो भन्न सकिएन। दुवै अङ्ग आफू जे कुरामा दक्ष थिए सोही काम राम्ररी गर्न सक्थे र एक बिना अर्कोले केही गर्न सक्दैन थिए। एउटा दार्शनिक छलफल नै चल्योः आखिरमा शरीर के नै रहेछ र? सबैले सोधे, र आफू सबै साथमा भई काम गरे नै शरीर रहने निष्कर्षमा पुगे। यदि सबै अङ्गहरुले एक अर्कासँग काम गरे पो अङ्गहरु राम्ररी चल्ने रहेछ त।

तर पछि यस्तो प्रतिस्पर्धा नहोस् र अङ्गहरुले एक-अर्कालाई वाधा नपुराओस् भनेर सबै अङ्गहरुले त्यस बेलादेखि शरीर दुई खुट्टामा हिंड्ने निर्णय गर्‌यो। खुट्टा भूईंमा टेकी, हात हावामा माथी राखी। शरीर यो फैसला देखी खुशी भयो, तर साना बालबालिकाहरु चाहिं हातखुट्टा मै हिंडोस् भन्ने सुझाव दिए ता कि मानिसले आफ्नो मूल कहिल्यै नबिर्सुन्। अङ्गहरुले सबै कामकाज एक-आपसमा बाँडे। खुट्टाहरुले शरीरलाई बोक्ने भए, तर गन्तव्यमा पुगेपछि हातहरुले औजार बनाउने वा चलाउनु पर्ने भयो। जब कि खुट्टा र पैतालाले शरीरलाई बोक्नु पर्ने जस्तो गरुङ्गो काम गर्नु पर्‍यो, हातहरुले चाहिं आफूलाई तेर्साएर, वातावरण अनुसार काम गर्ने र खाना मुखमा पुर्‍याउने जिम्मा लियो। पेटले खानामा हुने सबै पौष्टिक त्तत्व निचारी जीउका कण-कणमा पुर्‍याउने जिम्मा लियो। त्यसैगरी मिल्किएका सामाग्री जीउको ढलबाट बाहिर पुर्‍याउने र खुला फाँट वा जमीन मुनी गाड्ने। यसरी जमीनले मल पाएर राम्रो हुने भयो। बोट-बिरुवाले फल दिने र हातले आएर ती फलहरु टिपी मुखमा राख्ने। यसरी नै जीवनको चक्र चल्ने भयो।

खेलकुद र रमझमका कुरा पनि यसै गरि बाँडियो। गायन, हाँस्यकला, र बोली मुखको भागमा आयो; दौड र फुटबल चाहीं खासगरि खुट्टाको काम बन्यो; र त्यसैगरि बेसबल र बास्केटबल हातको अंशमा पर्‍यो, खाली यस खेलमा दौड्नु पर्दा चाहिं खुट्टा चाहिने भयो। अनि एथ्लेटिक्समा चाहीं सबै जसो खेलहरु खुट्टाकै भयो। यसरी सब काम बाँडचुँड गर्दा त शरीर एउटा निकै शक्तिशाली यन्त्र बन्यो, जसमा बडो अजङ्गका जनावरलाई पनि कामको मात्रा र गुणस्तर दुवैमा उछिन्ने शक्ति आयो।

तर शरीरका अङ्गहरुले के बुझे भने, यस्तो व्यवस्थाले पनि पछि द्वन्द ल्याउने सम्भावना हुन्छ। टाउको चाहिं सबसे माथी भएर उसले के सोच्न सक्छ भने ऊ भूईं छुने पैंतालाभन्दा धेरै नै राम्रो छ। अथवा आफू भन्दा मूनीका अङ्गहरुको मालिक सम्झन सक्छन्, अरू तिनको दास। उनीहरुले के कुरामा जोड दिए भने, टाउको र टाउकोका मुनी भएका अङ्गहरु बराबर हुन्। यस्तो होस् भनी सुनिश्चित गर्न अङ्गहरुले एक अङ्गको दुःख वा सुख सारा अङ्गहरुले महसुस हुने बनाए। मुखलाई यता-उता कुरा गर्दा पुरै शरीरको लागि बोल्ने र आफ्नो लागि मात्र बोल्ने होइन भनी चेतावनी दिए।

तिनीहरुले गीत गाएः

हाम्रो शरीरमा
कोही दास छैन
हाम्रो शरीरमा
कोही दास छैन
एक अर्काको सेवा गर्छोँ
हाम्रो लागि हामी नै
एक अर्काको सेवा गर्छोँ
एक अर्काको सेवा गर्छोँ
जिब्रो हाम्रो आवाज
मलाई सम्हाल र म तिमीलाई सम्हाल्छु
र हामी बलियो शरीर बनाउँछौँ
मलाई सम्हाल र म तिमीलाई सम्हाल्छु
र हामी बलियो शरीर बनाउँछौँ
एकता मै सुन्दरता
एक जुट भई काम गर्छौँ
बलियो शरीरको लागि
एक जुट भई काम गर्छौँ
बलियो शरीरको लागि
एकता नै हाम्रो शक्ति

यो गीत शरीरको आफ्नो गीत बन्यो। शरीरले आज सम्म पनि यो गीत गाउँछ र यसले मानिस र जनावर बीचको फरक, वा आफ्नै क्रान्तिको बहिस्कार गर्नेहरु बीचको फरक देखाउँछ।

आफ्नै आँखा अगाडि यी सब कुरा देख्दा-देख्दै पनि चारपाइले जनावरहरुलाई यो क्रान्तिसँग केही सरोकार राख्न मन लागेन। यस्तो गाउने काम वाहियात लाग्यो, र मुखको काम त खाने मात्र हो गाउने होइन भने। तीनले प्रकृतीको रुढिवादि पार्टि खडा गरे, र पहिलेकै धुनमा चलिरहे; कुनै बानी नबदलिकन।

जब मानिसले अङ्गहरुको सञ्जालबाट सिकेर काम गर्छ, तब प्रगती हुन्छ; तर जब तिनले शरीरका अरु अङ्ग र टाउको बीच लडाईं गर्छ, त्यस्तो अवस्थामा मानिस पनि आफ्नो जनावर दाजुभाइ झैं हुन आउँछन्, जसले आफू भित्रको क्रान्तिको बहिस्कार गरे।


Jui Shrestha was born and raised in Kathmandu, Nepal. She moved back to Nepal in April 2015 (weeks before the Gorkha earthquake), after studying and working in the US for over a decade. She has been in the public opinion research field for the last five years. Previous translation work has been for Nepali NGOs. She was first introduced to Prof. Ngugi’s work as a high school student in Waterford Kamhlaba UWCSA, Swaziland.

What's Your Reaction?
Excited
0
Happy
0
In Love
0
Not Sure
0
Silly
0
Scroll To Top